
काठमाण्डु, २ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रतिभाहरूको देश भएको दाबी गरेका छन । आज (बुधवार) छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
उनले वेदका ऋषाहरु समेत नेपाल भूमिमै लेखिएको भन्दै पहिलो गुरु, पहिलो दार्शनिक, पहिलो योगी, आदि दार्शनिक पनि यही भूभागका भएको पनि बताएका छन ।
प्रधानमन्त्री ओलीले भने, ‘कला, संस्कृति, सङ्गीत, गायन, नृत्य र वाद्यवादन लगायतको विकास गर्न सक्ने ठाउँ हो । प्रतिभाहरूको देश हो’ । उनले यस्ता प्रतिभाहरूलाई सम्मानित र प्रशंशित गर्ने काम गरेकोमा छिन्नलता पुरस्कार गुठीलाई धन्यवाद समेत दिएका छन ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गरेका छन् ।
यसैगरी प्रधानमन्त्रीले २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गरे ।
छिन्नलता गीत, सङ्गीत र गायन पुरस्कारको राशी जनही एक लाखको छ भने युवा पुरस्कार ५० हजार राशीको रहेको छ ।