महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाण्डु टुडे २०८१ साउन २ गते १६:५५ मा प्रकाशित

काठमाण्डु, २ साउन– बरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन । राष्ट्रपति रामचन्द्र पौडेलले बरिष्ठ अधिवक्ता बडाललाई आज बुधबार महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका व्यक्ति हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना बडाल महान्यायाधिवक्ता थिए ।

सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ताले सरकारवादी मुद्दाको अभियोजन र प्रतिरक्षा गर्ने सरकारी वकिलहरुको नेतृत्व गर्छन् । श्रम कानूनका ज्ञाता रहेका बडाल यसअघि लामो समय एमाले समर्थित श्रमिक संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध थिए ।

महान्यायाधिवक्ता नियुक्त हुनुअघि उनी एमालेको कानून विभागका प्रमुख रहेका थिए । महान्यायाधिवक्ता पदमा दोहोरिनेमा बडाल तेस्रो व्यक्ति हुन् । यसअघि मोतीकाजी स्थापित र प्रेमबहादुर विष्ट दुई पटक महान्यायाधिवक्ता बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us