प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाण्डु टुडे २०८१ साउन २ गते १५:३३ मा प्रकाशित

काठमाण्डु, २ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन । आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिने निर्णय भएको सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले दिएको जानकारी दिएका छन ।

उनले भने, ‘संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ, तर प्रधानमन्त्रीज्यूलाई तुरुन्तै संसदको विश्वास लिएर काम अघि बढाउन सहजता हुन्छ भनेर हामीले केही दिनभित्रै मत लिने तयारीमा लागेका हौं, ‘आइतबार नै विश्वासको मत लिनेगरी हामी अघि बढ्छौं ।’ प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका ओलीलाई कांग्रेसको साथ छ ।

संविधानको धारा ७६(२) अन्तर्गत प्रधानमन्त्री बनेका ओलीलाई कुनै प्रतिकुलता आउन सक्ने र त्यसपछि धारा ७६(३) मा प्रवेश गरेर ठूलो दलका हैसियतमा कांग्रेसलाई अघि बढाउन सकिन्छ कि भन्ने कोणबाट पनि राजनीतिक वृत्तमा छलफल चल्ने गरेका छन् ।

ओलीले यो बहसलाई समेत किनारा लगाउँदै सहज ढंगले अघि बढ्न तुरुन्तै विश्वासको मत लिन चाहेको एमालेले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us