बागमतीका मुख्यमन्त्री जमकट्टेलले ६ गते विश्वासको मत लिने

काठमाण्डु टुडे २०८१ साउन २ गते ९:०१ मा प्रकाशित

काठमाण्डु, २ साउन– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले ६ साउनमा आइतबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्तावसहितको पत्राचार प्रदेशसभा सचिवालयमा गरेका हुन् । प्रदेश सरकारमा एमालेबाट सहभागी पाँचमन्त्रीले गत २४ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए ।

एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि ६ साउनको १ बजे प्रदेशसभा बैठक बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

२०७९ पुसमा एमाले, राप्रपा र एकीकृत समाजवादीसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त जमकट्टेल काँग्रेस र एमाले गठबन्धनमा संघमा सरकार बनेपछि अल्पमतमा परेका हुन् । एमालेले समर्थन फिर्ता लिइसकेकाले जमकट्टेलले विश्वासको मत नपाउने सम्भावना करिब निश्चित छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us