पहिरोले घर भत्किएर सासुबुहारीको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन १ गते २१:०९ मा प्रकाशित

संखुवासभा, १ साउन– संखुवासभाको सिलिचोङ गाउँपालिका–१ विलुवा दोभानमा मंगलबार पहिरोले पुरिएर सासु बुहारीको मृत्यु भएको छ ।

पहिरोमा परी सिसुवाखोलाका ५५ वर्षीया मोतीमाया राई र २७ वर्षीया समीक्षा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिब ५ बजेको समयमा घर माथिबाट पहिरोसँगै खसेको ठूलो ढुंगाले उनीहरूलाई किचेको हो । घटनामा २७ वर्षीया रविना राई गम्भीर घाइते भएकी छन् । उनलाई ९ घण्टापछि नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरी उपचारका लागि काठमाण्डु ल्याइएको छ ।

उनको बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा उपचार भइरहेको छ । पहिरो खस्दा घरभित्र रहेका ६ जनामध्ये ३३ वर्षीय मनिकुमार राई, १२ वर्षीय अमिर राई र ४ वर्षीया समृद्धि राई भने सकुशल रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us