काभ्रेको ६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

काठमाण्डु टुडे २०८१ साउन १ गते १५:२१ मा प्रकाशित

काठमाण्डु, १ साउन– काभ्रेको तेमाल गाउँपालिका–९ मा एक जना किशोरबाट महिला बलात्कृत भएकी छन् । बलात्कार आरोपमा रामेछापको सुनापति गाउँपालिका–५ घर भएका १८ वर्षीय पासाङ तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन ।

बलाकृत ६२ वर्षीया महिलालाई प्रहरीले संरक्षण गृहमा राखेको छ । मानसिक सन्तुलन गुमाएकी र बोल्न नसक्ने पीडितलाई तामाङले भण्डारीबेशी नजिकै पर्ने मूल सडकसँगैको झाडीमा जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ ।

असार २९ मा घटनास्थलभन्दा पारि रामेछाप तर्फबाट दुई जनाले देखेर प्रहरीले खबर गरेपछि इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरी नेतृत्वको टिमले पीडितलाई उद्धार गरेको छ ।

घटनास्थल सुनकोशी नदीको किनारमा पर्छ । बलात्कारपछि भाग्दै गरेका किशोरलाई पक्राउ गरेर अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिएका छन ।

आरोपी भक्तपुरमा मजदुरी गर्छन् । गाउँ फर्किँदा बाटोमा भेटेपछि अपरिचित महिलालाई बलात्कार गरेको उनले प्रहरीसँग बयान दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us