९ सय ११ जनालाई रोजगारी दिएको छुः बालेन साह

काठमाण्डु टुडे २०८१ साउन १ गते ९:२५ मा प्रकाशित

काठमाण्डु, १ साउन– काठमाण्डु महानगरपालिकाले श्रम बैंकमार्फत् ९ सय ११ जनालाई रोजगारी दिएको जनाएको छ ।

मेयर बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जाल एक्समार्फत ३ सय २९ जनालाई निजी र ५ सय ८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको जानकारी दिएका छन् ।

‘महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाण्डुको समृद्धि’ तथा ‘श्रम बैंक स्वर्णिम योजना’ अगाडि बढाएको हो,’ बालेनले लेखेका छन् ।

बालेनले महानगरले सञ्चालन गरेको सीप मेलामार्फत् दुई हजार ५ सय ५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत एक हजार ४ सय ६७ जना र अनलाइनमार्फत २ हजार गरी ६ हजार २२ जनाले तालिम सम्पन्न गरेको बताएका छन् ।

यसबाट श्रम बैंकमार्फत दक्ष ४ सय ५५, अर्धदक्ष ३८ जना र अदक्ष ४ सय १८ गरी जम्मा ९ सय ११ जनाले रोजगारी पाएको उनले बताए ।

जसमध्ये ३ सय २९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५ सय ८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको जानकारी उनले दिए ।

महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८ सय जना युवा युवतीहरु रोजगार र स्वरोजगार भएको दाबी उनले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us