मन्त्री भएकै दिन मन्त्रालय छिर्न नपाएका ‘अभागी’ मन्त्री

काठमाण्डु टुडे २०८१ असार ३१ गते १८:३७ मा प्रकाशित

काठमाण्डु, ३१ असार–नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारी कर्मचारीको घेराबन्दीमा परेका छन् ।

शीतलनिवासबाट सथप लिएर पदबहालीका लागि सिंहबारबार आएका अधिकारीलाई आन्दोलनरत कर्मचारीले मन्त्रालय प्रवेशमा अवरोध गरेका हुन् । अरु मन्त्रीको भव्य स्वागत भइरहँदा अधिकारी भने कर्मचारीका कारण रोकिएर मन्त्रालयको चमेनागृहमा गएर बसेका थिए ।

प्रहरीले भिड हटाएर मन्त्रीको पदबशाली गराउ खोजेको थियो । तर अधिकारीले कर्मचारीका माग सम्बोधनका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएर प्रधानमन्त्री कार्यालयतिर हिंडे ।

‘तपाईंहरुका मागबारे बुझेर म सम्बोधनका लागि प्रयास गर्छु’, अधिकारीले कर्मचारीलाई भने, ‘आजै बस्ने मन्त्रिपरिषद् बैठकमा कुरा उठाउँछु ।’

संघको कृषि सेवाअन्तर्गत समायोजना गर्दा आफूहरुमाथि अन्याय भएकाले वृत्ति विकास रोकिएको भन्दै राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारी मन्त्रालयको मूलगेटमा धर्नामा बसेका छन् ।

संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका ३ सय ३८ कर्मचारीको दरबन्दी कायम नहुँदा उनीहरु हालसम्म पुल दरबन्दीमा छन् ।

उनीहरुले वृत्ति विकासको ग्यारेण्टी हुने गरी दरबन्दी कायम गर्न माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us