काठमाण्डु, ३१ असार– नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल कहिल्यै पराधीन नभएको भन्दै मुलुकको स्वतन्त्रता बचाउने जिम्मा सरकारले लिने बताएकी छन् ।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले पुर्खाले हालसम्म बचाएर ल्याएको देश भावी पुस्ताका लागि जोगाउनुपर्ने उल्लेख गरिन् ।
नेपाली सेनाको संख्या सानो भए पनि पञ्चशीलताको नीतिका कारण सुरक्षित रहेको आशयको अभिव्यक्ति उनले दिइन् ।
‘हाम्रो देश एकदम ठूला देशहरुको बीचमा रहेको ठूला सानो भूपरिवेष्ठित राष्ट्र हो । हाम्रो पूर्वजहरुले देशलाई अहिलेसम्म बचाएर ल्याएको । हाम्रो एउटा पराधीन हुन नपरेको इतिहास छ’, उनले भनिन्, ‘यो इतिहास हामीले अब आउने पिढीँका लागि कायम राख्नुपर्छ । यो काम सबैभन्दा धेरै नेतृत्व गरेर लैजाने परराष्ट्र मन्त्रालयले नै हो । यो ठूलो सेना भएको देश पनि होइन । हामी पञ्चशीलमा विश्वास गर्ने देश हौं ।’
उनले सबै मिलेर परराष्ट्र सम्बन्ध सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिइन् ।
परराष्ट्र मन्त्रालयले मुलुकको समृद्धिमा धेरै भूमिका खेल्न सक्ने भन्दै उनले त्यसका लागि नेतृत्व दिन आफू सक्षम हुने विश्वास व्यक्त गरिन् ।
‘मुलुकको समृद्धिमा परराष्ट्र मन्त्रालयले धेरै भूमिका खेल्न सक्छ’, उनले भनिन्, ‘विभिन्न देशसँग हामीले दौंत्य सम्बन्ध राखेका छौँ । यसलाई अझ प्रभावकारी बनाउनु पर्नेछ ।’
फरक प्रसंगमा उनले हमास आक्रमणमा बेपत्ता विपिन जोशीलाई फिर्ता ल्याउन पहल गर्ने प्रतबिद्धता जनाइन् ।