काठमाण्डु, ३१ असार– नवनियुक्त प्रधानमन्त्री केपी ओलीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा पद तथा गोपनियताको सपथ लिए ।
ओलीले देश र जनताका नाममा सपथ लिए ।
ओली बारम्बार धर्मशास्त्र, देवी देवता र अध्यात्मका कुरा गर्छन् । ओलीले त्रेत्रा युगमा भगवान रामको जन्म चितवनको माडीस्थित अयोध्यामा भएको दाबी धेरैपटक गरेका छन् ।
नेकपाकालमा प्रधानमन्त्री रहेका बेला ओलीले सरकारी खर्चमा राम, सीता, लक्ष्मण र हनुमानको पाँच फिट अग्लो मुर्ति बनाउन लगाएर काठमाण्डुबाट चितवनको माडी नगरपालिका–८ अयोध्यापुरीमा लगेर आफैंले प्रतिस्थापन गरेका छन् ।
ओलीले अयोध्यापुरीलाई विश्वभरका हिन्दूहरुको गन्तव्यस्थल बनाउने घोषणा पनि गरेका थिए । सोही कारण कतिपयले उनलाई हिन्दूवादी कम्युनिष्टको आरोपसमेत लगाउँदै आएका थिए । राष्ट्रपतिले सपथको व्यहोरामा रहेको ईश्वर÷ देश र जनता भन्ने शब्द चयन गरेका थिए ।
ओलीले ईश्वरको साटा देश र जनताका नाममा सपथ लिने बताए । सपथ लिने व्यक्तिलाई दुईमध्ये एक शब्द रोज्ने छुट हुन्छ । यद्यपि आफूले कुन व्यवहोरामा सपथ लिने भन्नेबारे सपथ गराउने व्यक्तिलाई पूर्वजानकारी भने दिएको हुनुपर्छ ।
ओलीले राष्ट्रपतिलाई देश र जनताको नाममा सपथ खाने जानकारी पहिल्यै गराएका थिए । यसअघि पुष्पकमल दाहाल प्रचण्डले पनि ११ पुस २०७९ मा तत्कालीन राष्ट्रपति विद्या भण्डारीबाट देश र जनताकै नाममा सपथ लिएका थिए ।