काठमाण्डु, ३१ असार–पूर्ववर्ती सरकारका तीन मन्त्रीले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पनि मौका पाएका छन् ।
ओलीका २१ मन्त्रीमध्ये तीनजना माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारमा पनि मन्त्री थिए ।
यसरी अघिल्लो र पछिल्लो दुवै सरकारमा मन्त्री हुन पाउने भाग्यमानी हुन् प्रदीप यादव, दामोदर भण्डारी । अशोक राई नेतृत्वको जसपा नेता यादवलाई ओलीले खानेपानीमन्त्री नियुक्त गरेका छन् ।
ओलीले आफ्नै सांसदहरु बलराम अधिकारीलाई भूमि व्यवस्था तथा सहकारी र दामोदर भण्डारीलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा पनि उनीहरु सोही मन्त्रालयमा मन्त्री थिए । यादव स्वास्थ्यमन्त्री थिए ।
दोहोरोनिमा ढुक्क रहेका पदम गिरी भने अन्तिम समयमा आउट भए । प्रचण्ड नेतृत्वको सरकारमा कानूनमन्त्री रहेका गिरीलाई ओलीले सञ्चारमन्त्री बनाउने आश्वासन दिएका थिए ।
तर, पृथ्वीसुब्बा गुरुङसहितका नेताले आइतबारको सचिवालय बैठकमा पटकपटक अवसरले पछ्याइरहेको भन्दै गिरीको आलोचना गरेपछि ओली उनलाई मन्त्री बनाउन हच्किए ।