मुकुलका परिवारलाई मनिषको आग्रहः अन्टसण्ट बोलेर कुटाइ खान सक्छन्, हेरचाह गर्नुस्

काठमाण्डु टुडे २०८१ असार ३० गते १९:१३ मा प्रकाशित

काठमाण्डु, ३० असार– राष्ट्रिय स्वतन्त्र पार्टीका सह–प्रवक्ता मनीष झाले पार्टीबाट मुकुल ढकालले कुटाई खान सक्ने चेतावनी दिएका छन् ।

मुकुल अरुबाट परिचालित भएर पार्टीभित्र समस्या खडा गर्न उद्धत रहेको आरोप उनले लगाए । मुकुलले सबै योजना विफल भएपछि ‘भिक्टिम कार्ड’ खोल्न थालेको टिप्पणी गरे । ‘स्पष्ट रूपमा अरूबाट परिचालित देखिने गरी रास्वपामा समस्या खडा गर्न निरन्तर लागिरहेका पार्टीबाट कारबाहीमा समेत परेका मुकुल ढकालका योजनाहरू सारा विफल भएपछि अब उनी भिक्टिम कार्ड खेल्दैछन्’, झाले फेसबुकमा लेखेका छन् ।

मुकुलले आइतबार आफूमाथि स्वर्णिम वाग्लेको सचिवालयबाट कुटपिटको धम्की आएको भन्दै सामाजिक संजालमा पोष्ट गरेका थिए । वाग्तेजस्ता शालीन व्यक्तिले कुटपिटको धम्की दिए भनेर आरोप लगाउँदा जनताले पत्याउने सोचेर मुकुलले झुठमाथि झुठ बोलेको बताए । ‘प्रेस मिट गरे, साराले गाली गरे । टिकाराम यात्रीसँग अन्तर्वार्ता गरेर कसलाई के आरोप लगाउँदा जनताले पत्याउँछन् भन्ने सोचेर झुठमाथि झुठ बोले, जग हँसाइ भो । थप गाली खाए। अब मलाई कुट्न आँटे भनेर हल्ला मच्चाउदैछन्’, उनले लेखेका छन् ।

अन्टसन्ट बोलेर कुटाइ खाने प्रयास गर्ने, कृत्रिम दुर्घटना गराएर दोष लगाउने, पार्टी कार्यालयमा हुल हुज्जत गरी पक्राउ पर्ने जस्ता अप्रिय प्रयास गर्ने मुकुलको योजना हुनसक्ने भन्दै झाले उनको हेरचाह गर्न परिवारलाई आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us