काठमाण्डू, २८ असार- नारायणगढ- मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका- २९ सिमलतालमा शुक्रबार बिहान दुइवटा यात्रुबस पहिरोमा पुरिएका छन् । वीरगञ्जबाट काठमाण्डू आउँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्सको बस र काठमाण्डूबाट रौतहटको गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्सको बसलाई बिहान साढे तीन बजेतिर पहिरोले पुरेको चितवन प्रहरीले जनाएको छ । पुरिएका बसमध्ये एउटाको पछाडिको केही भाग मात्र देखिएको र अर्कोको केही नदेखिएको जिल्ला प्रहरी कार्यालय चितवनको प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । गणपति डिलक्सको बसबाट हाम फालेर ज्यान बचाएका तीन यात्रु सम्पर्कमा आएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । एन्जल यातायातमा २४ जना र गणपति डिलक्समा ४१ यात्रु सवार थिए । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ७५ जनाको टोलीसहित प्रजिअ यादव घटनास्थलतर्फ गएका छन् ।