रवि लामिछानेको नाममा मानव तस्करी आरोपमा गृह मन्त्रालयका कर्मचारी पक्राउ

काठमाण्डु टुडे २०८१ असार २७ गते १५:३४ मा प्रकाशित

काठमाण्डु, २७ असार–प्रहरीले गृह मन्त्रालयका कर्मचारी निर्मल विष्टलाई पक्राउ गरेको छ ।

विष्टलाई प्रहरीको मानब बेचबिखन अनुसन्धान व्यूरोले सिंहदरबारस्थित गृह मन्त्रालयबाट नियन्त्रणमा लिएको हो । विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए ।

गृहमन्त्री रवि लामिछाने र गृहसचिव एक नारायण अर्यालको नाममा भ्रमण भिसामा मानिस विदेश पठाउने गरेको आरोपमा विष्टलाई पक्राउ गरिएको हो ।

विष्टले गत २१ असारमा थाइल्याण्ड हुँदै भिजिट भिषामा तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीलाई दबाब दिएका थिए ।

विष्टले पन्थीलाई आफूले गृहमन्त्री लामिछाने, उनको सचिवालय र गृहसचिव अर्याललाई मिलाइसकेको भनेका थिए ।

तर, पन्थीले त्यसबारे मन्त्रालयमा सोधखोज गरेपछि विष्ट लामिछाने र अर्यालको नाममा भिजिट भिषामा मानिस विदेश पठाउने धन्दामा संलग्न रहेको खुलासा भएको हो ।

अर्यालले आफ्नो नाम भजाएर मानव तस्करी गरेको आरोपमा सेवाबाट २५ असारमा हटाएका थिए । त्यसपछि विष्टले जागिर थमाइदिन आग्रह गर्दै गृहमन्त्री लामिछाने भेटेका थिए ।

लामिछानेको सचिवालयले विष्टमाथि थप अनुसन्धान गर्न प्रहरीको जिम्मा लगाइएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us