काठमाण्डु, २७ असार– कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।
काँग्रेस प्रमुख सचेतक रमेश लेखकले बिहीबार प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेका हुन् ।
सत्ताघटक एमाले, अकोश राई नेतृत्वको जसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्रीले शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभामा विश्वासको मतको सामना गर्दैछन् । लेखकले प्रधानमन्त्रीले विश्वासको मत लिँदा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको बताए ।
‘असार २८ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कांग्रेसका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको छ’, कांग्रेस संसदीय दलका तर्फबाट जारी सूचनामा उल्लेख छ ।
प्रतिनिधिसभामा कांग्रेसका ८८ सांसद छन् । प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना नरहेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनेछन् ।
कांग्रेस र एमालेबीचको सहमतिअनुसार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नेछन् ।