
काठमाण्डु, २७ असार– नेपाली काँग्रेसभित्र एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा जान नेताहरुबीच हानथाप सुरु भएको छ ।
सम्भवतः काँग्रेस महामन्त्री गगनकुमार थापा वा पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने सम्भावना छ ।
पूर्वमहामन्त्रीहरु कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि पनि पार्टीका तर्फबाट नेतृत्व गरेर सरकारमा सहभागी हुन चाहन्थे । तर, सभापति शेरबहादुर देउवाले थापा वा सिंहमध्ये एकलाई नेतृत्व दिएर सरकारमा पठाउने भएपछि सिटौला र निधि पछि हटेको श्रोतले बतायो । नेतृत्व दिए पनि देउवा थापालाई आकर्षक मन्त्रालय नदिने तयारीमा छन् । एमालेसँगको १० मन्त्रालय पाउने सहमति भएको काँग्रेस नेताहरु बताउँछन् ।
को–को छन् दाबेदार ?
मन्त्रीका लागि सुदूरपश्चिम प्रदेशबाट प्रमुख सचेतक रमेश लेखक र वीरबहादुर बलायर, कर्णालीबाट हृयराम थानी, लुम्बिनीबाट सञ्जय गौतम, किशोरसिंह राठौर, दीपक गिरी र चन्द्र भण्डारी, गण्डकीबाट जीवन परियार, शंकर भण्डारी र राजु थापा मन्त्रीका प्रमुख दाबेदार छन् ।
बागमतीबाट महामन्त्री गगनकुमार थापा, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, सभापति देउवा पत्नी आरजु राणा देउवा र दुलर्भ थापा, मधेसबाट विमलेन्द्र निधि, तेजुलाल चौधरी र अजय चौरसिया तथा कोशीबाट ज्ञानेन्द्रबहादुर कार्की, सरिता प्रसाईं र संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा लबिङमा छन् ।
देउवाको रोजाइमा को–को छन् ?
सभापति देउवानिकट उच्च श्रोतका अनुसार देउवाले महामन्त्री थापाको नेतृत्वमा सुदूरपश्चिमबाट रमेश लेखक, कर्णालीबाट हृयराम थानी, लुम्बिनीबाट चन्द्र भण्डारी, गण्डकीबाट जीवन परियार, मधेसबाट तेजुलाल चौधरी र कोशीबाट सरिता प्रसाईंलाई मन्त्री बनाउन चाहेका छन् । ओली सरकारमा देउवा पत्नी आरजुको सहभागिता करिब पक्काजस्तै छ ।
राणा काँग्रेस–एमाले गठबन्धनकी प्रमुख सूत्राधार हुन् । उनैले १५ असारमा पति देउवालाई ओलीनवास बालकोट लिएर गएकी थिइन् । सोही पारिवारिक बैठकमा काँग्रेस–एमाले गठबन्धन निर्माणको सहमति भएको थियो । महामन्त्री थापालाई स्वास्थ्य वा कृषि, राणालाई परराष्ट्र र लेखकलाई गृहमन्त्री बनाउने तयारी रहेको बुढानिलकण्ठ श्रोतले जनायो ।
सत्तारुढ घटक एमाले, अकोश राई नेतृत्वको जसपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतको सामना गर्दैछन् ।
८८ सिटको काँग्रेस र ७९ सिट संख्या रहेको एमालेले गठबन्धन गरेकाले प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना छैन । शुक्रबार विश्वासको मत नपाएर प्रधानमन्त्री पदमुक्त भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको प्रक्रिया थाल्नेछन् ।