काँग्रेसबाट रमेश लेखक गृहमन्त्री, एमालेबाट अर्थमन्त्री को ?

काठमाण्डु टुडे २०८१ असार २६ गते १९:५५ मा प्रकाशित

काठमाण्डु, २६ असार– सत्ता समीकरण गर्ने सहमति गरेका काँग्रेस र एमालेले केही महत्वपूर्ण मन्त्रालयको भागबण्डा टुंगो लगाएका छन् ।

दुवै दलका दोश्रो तहका नेताहरुका अनुसार एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा काँग्रेसले गृह, परराष्ट्र र भौतिक वा सहरी विकासमध्ये एक मन्त्रालय लिने करिब टुंगो लागेको छ । एमालेले अर्थ र सञ्चार मन्त्रालय लिने निश्चित छ ।

काँग्रेस प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री बन्ने करिब पक्काजस्तै छ । अरु मन्त्रालय र सरकारमा सहभागी हुने नेताको भने टुंगो लाग्न बाँकी रहेको काँग्रेसका एक नेताले जानकारी दिए । एमालेको भागमा परेको अर्थ मन्त्रालयको जिम्मेवारी भने कसले पाउने भन्ने टुंगो लागेको छैन । अध्यक्ष केपी ओली उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिन इच्छुक छैनन् । पौडेलको विकल्पमा प्रमुख सचेतक महेश बर्तौला, पदम गिरीलगायतको नाम चर्चामा छ ।

एमाले र काँग्रेसबीच १७ असारको मध्यरातमा एक व्यवसायीको घरमा आलोपालो सरकारको नेतृत्व गर्ने र संविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर भएको थियो । सहमतिलगत्तै एमाले र अशोक राई नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् ।

प्रधानमन्त्री पुपष्कमल दाहाल प्रचण्डले २८ असारमा प्रतिनिधिसभामा विश्वासको मतको सामना गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

काँग्रेस–एमाले संविधानको धारा ७६ (२) अनुसार दुई वा सो भन्दा बढी दलको समर्थन प्राप्त दलको नेता प्रधानमन्त्री नियुक्त हुने व्यवस्थाअनुसार ओली प्रधानमन्त्री बन्ने दाबी गरिरहेका छन् ।

माओवादी केन्द्रले भने धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके ७६ (३) को प्रक्रियाअनुसार संसदको सबैभन्दा ठूलो दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने दाबी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us