काठमाण्डु, २६ असार– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूसँग विदेशी नागरिकता नरहेको बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै उनले नेपालीबाहेक आफूसँग कुनै देशको पीआर र ग्रिनकार्ड नरहेको बताइन् ।
उनले अत्यन्त जरुरी भन्दै राष्ट्रिय सर्तकता केन्द्रबाट पत्र आएको भने स्वीकार गरिन् । आफ्नो श्रीमान पोल्याण्डका नागरिक भए पनि आफूले त्यहाँको ग्रिनकार्ड नलिएको उनको भनाइ थियो ।
‘मैले २० वटा जति देश भ्रमण गरेको छु । कुनै देशको पनि ग्रिन कार्ड तथा पीआर समेत लिएको छैन । लिने प्रक्रिया के हो त्यो समेत थाहा छैन’, उनले भनिन् । आफूविरुद्ध उजुरी परेपछि मात्र पीआर र ग्रिन कार्ड लिने प्रक्रियाबारे बुझेको उनको भनाइ छ ।
पोल्याण्डमा निश्चित मापदण्ड पुरा गरेपछि मात्र पीआर पाइने मन्त्री श्रेष्ठले उल्लेख गरिन् । श्रेष्ठले विदेशीसँग बिहे गरेपछि पीआर पाउँछ भन्न नमिल्ने र बिहे गर्दैमा पीआर लिनुपर्छ भन्ने पनि नभएको प्रष्टीकरण दिइन् ।
नेपाली नागरिकतासँगै पोल्याण्डको पीआर लिएको भन्दै सुमनाविरुद्ध एक व्यक्तिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।