काठमाण्डु, २६ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भए खुला छलफलमा आउन काँग्रेस–एमालेलाई आग्रह गरेका छन् ।
माओवादी संसदीय दलको बुधबार सिंहदरबारमा बसेको बैठकमा प्रचण्डले अमुक व्यापारीका घरमा मध्यरातमा दुई परिवारबीच भएको सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार नबन्ने बताए । ‘मध्यरातमा अँध्यारो कोठामा बसेर गरिएको षड्यन्त्रलाई राष्ट्रिय सहमति भन्न सकिँदैन’, उनले भने, ‘साँच्चै राष्ट्रिय सहमतिको सरकार बनाउने भए खुला छलफल गर्नुपर्छ ।’
ओलीले आफूलाई बालुवाटारमा अल्मल्याएर १७ असारमा काँग्रेससँग सहमति गरेको भन्दै त्यसलाई षड्यन्त्रको संज्ञा दिए । काँग्रेस–एमालेबीच सहमति हुन लागेको हल्ला सुनेपछि आफूले ओलीलाई बालुवाटार बोलाएर तीन घण्टा छलफल गरेको उनको भनाइ थियो ।
प्रधानमन्त्री बन्ने रहर भए आफूले राजीनामा दिएर ठाउँ खाली गर्ने बताए पनि ओलीले अहिल्यै त्यसो गर्न जरुरी नरहेको बरु सरकारलाई प्रभावकारी बनाउने र राजनीतिक नियुक्तिका विषयमा मादपण्ड तय गर्ने बताएर आफूलाई गुमराहामा राखेको उनले सुनाए ।
वाम शक्तिहरुबीच एकता गर्ने उद्देश्यले गरिएको सहकार्य भत्काउने कदमले तत्कालका लागि आफूहरुलाई नोक्सान भएको जस्तो देखिए पनि कालान्तरमा एमालेलाई नोक्सान हुने प्रचण्डको विश्लेषण ििथयो ।
फरक प्रसंगमा प्रचण्डले आफूले २८ असारमा संसदबाट विश्वासको मत नपाए संविधानको व्यवस्थाअनुसार ७६ (३) अनुसार ठूलो दलको नेताको हैसियतले काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी उनले गरे ।
‘७६ (२) अनुसार गठित सरकारको प्रधानमन्त्रीले विश्वासको मत पाउन नसके ७६ (३) अनुसार ठूलो दलको नेता प्रधानमन्त्री बन्ने भन्ने स्पष्ट व्यवस्था संविधानमा छ’, उनको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘मलाई विश्वास छ सम्माननीय राष्ट्रपतिजीले संविधानको व्यवस्था र विगतका अभ्याससमेतका आधारमा सही निर्णय गर्नुहुनेछ ।’