सत्ता समीकरण फेरिएसँगै बेचन झाको बयान रोकियो

काठमाण्डु टुडे २०८१ असार २७ गते १४:०१ मा प्रकाशित

काठमाण्डु, २६ असार– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको बयान रोकिएको छ ।

काँग्रेस र एमालेबीच सत्ता समीकरण गर्ने सहमतिपछि झाको बयान रोकिएको हो । दुई दलबीच झा पक्राउ परेको तीन दिनपछि १७ असारको मध्यरातमा सत्ता समीकरणसम्बन्धी सहमति भएको थियो ।

उक्त प्रकरणका फरार अभियुक्त झालाई नेपाल प्रहरीको विशेष व्युरोले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट १४ असारको राति पक्राउ गरेको थियो ।

ब्युरोले झालाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डुको जिम्मा लगाएको छ । प्रहरीले सुरुमा उनीसँग बयान लिएको थियो । प्रहरी उच्च श्रोतका अनुसार उनले बयानमा उच्च राजनीतिक नेतृत्वको भुटानी शरणार्थी प्रकरणमा संलग्नताबारे बोलेका थिए ।

झा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने काममा बिचौलियाको भूमिकामा थिए । ०६९ चैतमा भुटानी शरणार्थी प्रकरणमा काँग्रेस नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँण, एमाले सचिव टोपबहादुर रायमाझी, काँग्रेस पूर्वसांसद आङटावा शेर्पा, गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत बिचौलियाहरु पक्राउ परेपछि फरार भएका थिए ।

सो प्रकरणमा ३० जनाविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ वटा कसुरमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले अदालतमा मुद्दा चलाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us