नयाँ बन्ने सरकारको मूल उद्देश्य संविधान संशोधन: कांग्रेस नेता केसी

काठमाण्डु टुडे २०८१ असार २५ गते १६:५६ मा प्रकाशित

काठमाण्डु, २५ असार– पूर्वमन्त्री एवं कांग्रेस नेता अर्जुननरसिंह केसीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने मूल उद्देश्यसहित कांग्रेस एमालेसहितको राष्ट्रिय सरकार गठन गर्न लागिएको जानकारी दिएका छन ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस बोल्दै नेता केसीले यस्तो बताएका हुन । उनले संविधान निर्माणपछि पनि स्थिर सरकार बन्न नसक्दा जनअपेक्षाअनुसार काम नसकिएको भन्दै संविधान संशोधनलगायत विषयमा बृहत् सहमतिका लागि दुई पार्टी एकठाउँमा आएको बताएका छन ।

उनले भने, ‘संविधान संशोधनको मूल मुद्दासहित कांग्रेस र एमाले एक ठाउँमा आएका छौँ । अब बाँकी दलसँगसमेत बृहत् समझदारी बनाएर समस्याको पहिचान र सम्बोधनका लागि पहल गरिनुपर्छ ।’ उनले शान्ति, विकास र राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको जिकिर गरे । केसीले भने, ‘नेपालको इतिहासमा अहिलेसम्म बनेका ७ संविधानमध्ये कुनै पनि लामोसमय टिकेनन् ।

वर्तमान संविधानमा टेकेर परिवर्तित व्यवस्थाको स्थायित्व, विकास र समृद्धिको चाहना पूरा गर्न स्थिर सरकार बनाउने हाम्रो चाहना हो । त्यसैले संविधान संशोधन गरेर अगाडि बढ्नुको विकल्प छैन् ।’

केसीले ठूला दलहरू एकैठाउँमा रहँदा तानाशाही हुन्छन् भन्ने तर्क सही नभएको भन्दै सधैँ अस्थिरता मच्चाउने र दलहरूप्रति वितृष्णा फैलाउने कुरालाई ठूला दलले हेरेर बस्न नहुने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us