एजेन्सी– मान्छेहरुले राज्य लाई कर तिर्नबाट बाच्न अनेक उपायहरु अपनाउने गरेका छन । त्यस्तै फ्रान्समा एक पुरुषले ओभर स्पिडमा कार चलाएको जरिवाना तिर्नबाट बच्न कारमा अर्को रङ्ग परिर्वतन गरेका समाचार बाहिरीएको छ ।
जुन २ मा फ्रान्सेली प्रहरीले कर्नोस्याक नजिकको बाटोमा अधिकतम गति ८० किमी÷घण्टा रहेको सडकमा ओभर स्पिडमा गाडी चलाउनेहरूलाई समात्न स्पिड रडार लगाएका थिए ।
यस क्रममा एउटा हरियो पोर्श कार १८० किमी÷घण्टाको दरले हुइँकिएर गयो । उनीहरूले नजिकै रहेको ट्राफिक प्रहरीको अर्को टुकडीलाई त्यो कारबारे सूचित गरिदिए । तर ती पुरुषले प्रहरीहरूले कार रोक्न दिएको सङ्केत बेवास्ता गर्दै गए । यो गल्ती गरेपछि जरिवाना त तिर्नु पर्यो नै ।
कार समातिएला र जरिवाना तिर्न पर्ला भनेर बाठो हुँदै उनले कारमा अर्कै रङ्ग परिर्वनत गरे । सडक नियम उल्लङ्घन गर्ने कार चहकिलो हरियो रङ्गको पोर्श ९११ स्पोर्ट्स कार थियो । घटनाको समयमा सडकमा एउटा मात्रै हरियो पोर्श कार गुडेको थियो । तर जब पोर्शधनी प्रहरी थानामा आइपुगे उनको कार खैरो थियो ।
प्रहरीले ओभरस्पिडबारे सोधपुछ गर्दा ४० वर्षिय ती संदिग्धले शुरुमा त छक्क परेको जस्तो नाटक गरे । अनि घटनाको दिनमा कारको हावा फुस्केर चलाउन नसकेकोले ओभरस्पिडको नियम तोड्ने कार आफ्नो हुनै नसक्ने बताएका थिए । ती पुरुषको बयानले प्रहरीहरू द्विविधामा परे ।छानबिन शुरु भयो ।
नियालेर हेर्दा कारको बडीमा ठाउँठाउँमा हरियो रङ्गको निशान पाइयो । घटनाको एक हप्ता अघि मात्रै कारले प्राविधिक परिक्षण पास गरेको थाहा भयो । थप खोजतलास गर्दा कार शुरुमा हरियो नै रहेको थाहा भयो । आफूविरुद्ध यतिका प्रमाण भेटिएपछि अन्त्यमा पुरुषले पनि आफ्नो गल्ती माने ।
भारी जरिवाना तिर्नबाट बच्न कारमा अर्को रङ्ग लगाएको भनेर पनि कबुले । घटनाको दिनमा प्रहरीहरूले कार रोक्न गरेको सङ्केत आफूले नदेखेको भन्दै नियम पालना गर्न नमानेको र अरुको ज्यान धरापमा पारेको आरोप भने उनले अस्वीकार गरेका छन् ।
यो मामिला नसल्टिँदासम्मको लागि प्रहरीले पोर्श कार आफ्नो नियन्त्रणमा राखेको छ । फ्रान्समा अनुमति दिइएको सीमाभन्दा बढी गतिमा सवारी साधन चलाउँदा १ हजार ३०० यूरोसम्म जरिवाना लाग्छ । चालक अनुमति पत्र नै निलम्बित हुने र सवारी साधन जफ्त हुने सम्भावना पनि हुन्छ ।