योगलाई धर्म र जातमा सीमित गर्नु हुँदैन: केपी ओली

काठमाण्डु टुडे २०८१ असार ७ गते १७:४० मा प्रकाशित

काठमाण्डु, ७ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताएका छन ।

आज (शुक्रबार) १० औँ विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका छन ।

अध्यक्ष ओलीले योग नेपाल भूमिबाट सुरु भएको उल्लेख गर्दै योग कुनै धर्म, जाति, भूगोल र राजनीतिक विचार धारामा सीमित नहुने बताएका छन ।

उनले योगलाई मानव जातिको कल्याणका रूपमा विकास गर्नुपर्ने बताएका छन । उनले योग मानव समाजव्यापी हुन जरुरी रहेको बताएका छन । अध्यक्ष ओलीले भने, ‘योग कुनै धर्म विशेषसँग कुनै जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचार धारासँग सीमित छैन ।

यो सम्पूर्ण मानव जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको छ । कुनै धर्म विशेषसँग सीमित गरेर समग्र मानव जातीको कल्याणका निम्ति मानवव्यापी यसको दायरालाई सिमित गर्नु हुँदैन । यस धर्मसँग सम्बन्धित छ भनेर अरु धर्मलाई अलग गर्नु हुँदैन ।

मानव जातीको शरीर स्वस्थ रहोस्, मस्तिष्क स्वस्थ रहोस् भन्ने कुरासँग सम्बन्धित छ ।’ अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us