
काठमाण्डु, ७ असार– पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० सम्म काठमाण्डुमा हुने महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई महाधिवेशन अवधिभर बिहान बेलुका खाना खुवाउने भएको छ ।
प्रतिनिधिहरूलाई महाधिवेशन स्थलमै खाना खुवाउन क्याटरिङलाई व्यवस्थापनको जिम्मा दिएको नेकपा एकीकृत समाजवादीका नेताले जानकारी दिएका छन ।
प्रतिनिधिहरूले महाधिवेशन अवधिभर काठमाण्डु रहँदा बस्ने बासको व्यवस्था सम्बन्धित जिल्ला कमिटीको रोहबरमा प्रतिनिधि आफैँले गर्नुपर्ने नेता जीवनराम श्रेष्ठले जानकारी दिएका छन । प्रतिनिधिहरूलाई १६ गते बेलुकाबाट ९ छाक भात खुवाउने व्यवस्था पार्टीले मिलाएको छ भने दैनिक चिया र खाजाको व्यवस्था पनि गर्ने उनले जानकारी दिएका छन ।
महाधिवेशनमा १ हजार ७७८ जना महाधिवेशन प्रतिनिधि सहभागी हुने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशन सम्पन्न गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन भएको छ भने अन्य १२ उपसमितिहरू गठन गरेर कार्य विभाजन गरिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।
उनले भने, ‘खाद्य, मञ्च व्यवस्थापन, जनपरिचालन, प्रतिनिधि व्यवस्थापन, सुरक्षा समन्वय, आर्थिक, स्वास्थ्य र सांस्कृतिक उपसमितिहरूलाई जिम्मेवारी तोकिएको छ, ‘सबैले आ–आफ्नो तयारी गरिरहेका छन् । खतिवडाका अनुसार प्रचार विभागले असार १४ गते पत्रकार सम्मेलन गरेर तयारीबारे सबै जानकारी गराइने छ ।
महाधिवेशनमा राजनीतिक प्रतिवेदनसहित चार वटा दस्ताबेज पेस गरिनेछन् । ती दस्ताबेजहरू छलफल गरेर पारित गरेपछि नयाँ नेतृत्वको छनोटको प्रक्रिया सुरु हुनेछ ।