काठमाण्डु, ७ असार– छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको अवार्डमा २१ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो ।
अवार्डको निर्णायक र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
छैटौं संस्करणको अवार्डमा महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंकले प्रायोजन गरेका छन् । यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप– आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएका छन् । सगरमाथा म्युजिक अवार्डको छैटौं संस्करणलाई विशेष बनाउन यस वर्ष विदेशमा गर्न लागिएको कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।
उनका अनुसार थाइल्याण्ड, सिंगापुर र मलेसियामा फरक देशमा फरक कार्यक्रम हुनेछ । थाइल्याण्डमा छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१, सिंगापुरमा सगरमाथा संगीत बहस कार्यक्रम र मलेसियामा सगरमाथा संगीत सम्मान कार्यक्रम हुनेछ ।
साथै पछि नेपालमा आएर विदेश जान समय नमिलेका कलाकर्मीलाई विशेष कार्यक्रम गरेर अवार्ड तथा सम्मान गरिनेछ । छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।
साथै नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने छ । छैटौं संस्करणको आयोजक समितिमा कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा, सनम कठायत, उषा सुवेदी, मुकुन्द बस्नेत र कुशल खत्री रहेका छन् ।