आजदेखि प्रस्तावित निर्वाचन आयुक्तबारे संसदीय सुनुवाइ

काठमाण्डु टुडे २०८१ असार ७ गते ११:३२ मा प्रकाशित

काठमाण्डु, ७ असार– प्रस्तावित निर्वाचन आयुक्तबारे आजदेखि संसदीय सुनुवाइ सुरु हुदैँ छ । दिउँसो १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरेका कृष्णमान प्रधानका विषयमा सार्वजनिक सुनुवाइ प्रारम्भ हुदँै छ ।

गत आइतबार बसेको संवैधानिक परिषद्ले प्रधानलाई आयोगको सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । काठमाण्डु महानगरपालिका–११ बबरमहलका प्रधानको नियुक्ति सिफारिसको विषय विवादित रहेको छ ।

उनीमाथि यौन दुर्व्यवहारको आरोपमा अदालतमा मुद्दासमेत चलेको भन्दै उनको नियुक्तिका विषयमा प्रश्न उठेका छन् । प्रधानविरुद्ध काभ्रे धुलिखेलकी एक महिलाले २०८० भदौ २४ गते जिल्ला अदालत काठमाण्डुमा यौन दुर्व्यवहार गरेको (दफा २२४) सम्बन्धी मुद्दा दर्ता गराएकी थिइन् ।

सो मुद्दामा न्यायाधीश केशवप्रसाद अधिकारीले २०८० भदौ २९ मा मिलापत्र गराएका थिए । सर्वोच्च अदालतले आफ्नो अभिलेखमा सो मुद्दाको फैसलामा ‘मिलापत्र’ गरिएको भन्ने उल्लेख गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us