गृहमन्त्री लामिछानेविरुद्धको रिट मल्ल र सुवेदीको इजलासमा

काठमाण्डु टुडे २०८१ असार ८ गते ११:०७ मा प्रकाशित

काठमाण्डु, ७ असार– आज शुक्रबार उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा सुनुवाइ हुँदै छ ।

उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेशी तोकिएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गराएका थिए ।

उक्त रिट यसअघि पेशी पर्दै सरेको थियो । यो विवाद सर्वोच्च पुग्नुको कारण महान्यायाधीवक्ता कार्यालयले लेखेको पत्र थियो । महान्यायाधीवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिनचिट दिँदै कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि सो पत्र खारेज गर्नुपर्ने माग उठेको थियो ।

सोही माग बोकेर रिट निवेदन सर्वोच्च पुगेका थिए । सुरुमा उक्त रिट दरपिठ भएपनि पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो ।

दर्ता भएपछि सर्वोच्चले पोखरामा दर्ता भएको जाहेरी देखि रुपन्देही जिल्ला अदालतमा रहेको अभियोग पत्रसम्म मगाउने आदेश गरेको छ ।

त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गरेको अध्ययन प्रतिवेदन पनि पेस भएको छ । यी प्रमाणहरूको आधारमा दुवै पक्षको बहस सुनेर सर्वोच्चले निर्णय दिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us