भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ: रवि लामिछाने

काठमाण्डु टुडे २०८१ असार ७ गते ११:०२ मा प्रकाशित

काठमाण्डु, ७ असार– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रवि लामिछानेले आफूहरू उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताएका छन ।

आज (शुक्रबार) रास्वपा स्थापना दिवसको अवसरमा लामिछानेले सामाजिक सञ्जालमार्फत कठिनाइहरूलाई नचिरी एउटा पार्टी स्थापित हुन नसक्ने बताएका छन ।

उनले लेखेका छन्, ‘रास्वपा जन्मिएको २ वर्ष भयो। हामी हाम्रो उद्देश्यमा अडिग छौँ, गन्तव्यमा स्पष्ट छौँ। कुरा बाटोको हो। बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ। आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरूको आशा र अपेक्षा सहितका अग्ला अग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ। कयौँ कठिनाइहरूलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन ।’

लामिछानेले वैचारिक स्पष्टतासँग राजनीतिक परिपक्वता हासिल गर्दै अगाडि बढ्ने पनि बताएका छन । उनले भनेका छन, ‘विश्वास गर्ने एक दुई जना मात्र हुँदा त हिँड्ने आँट गरियो भने आज त हामी सँग लाखौं लाख शुभेच्छुकहरू हुनुहुन्छ । २ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौँ विश्लेषकहरू आज रास्वपा खस्कँदो छ’ भन्ने विश्लेषण वाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोही टक शो मा बोल्न घाँटी र टाइ मिलाउँदै होलान्,’ उनले भने ।

तर आफूहरू आफ्नो यात्रामा अविचलित रहेको सभापति लामिछानेको भनाइ छ । ‘सम्झनुस् त, देश तथा विदेशका टोल टोल बस्ती बस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवाजलाई ‘घण्टी’ मा रूपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ। २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौँ, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं,’ उनी भन्छन् ।

घण्टी सिंहदरबार पसेको भन्दै देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिन्ह बसेको पनि उनको दाबी छ। ‘बाँकी काम हामी गर्छौ,तपाईंहरु न चिन्ता लिनुस्, न पिर गर्नुस्। सबैलाई दोस्रो स्थापना दिवसको शुभकामना,’ उनले लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us