
काठमाण्डु, ६ असार– उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन ।
आज (बिहीबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले पदको दुरुपयोग नगरीकन सन्तुलित रूपमा बजेट विनियोजन गरेको दाबी गरेका छन ।
उनले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको दाबी गरेका छन । उनले बजेट पास गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन गएर नागरिकहरुसँग अन्तरक्रिया गर्ने बताएका छन ।
उनले भने, ‘बजेट हामीले सकेजति, गर्नसके जति, गर्न परेको आवश्यकताअनुसार विभिन्न ठाउँमा आएको प्राथमिकताअनुसार भएको छ । पदको दुरुपयोग गरिएको छैन । पदको सदुपयोग गरिएको छ । आवश्यकताअनुसार सकेको गरिएको छ ।’