पाहुना आएका युवकको हत्या, एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ असार ७ गते १८:३० मा प्रकाशित

काठमाण्डु, ६ असार– विराटनगरमा सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्यामा आरोपमा प्रहरीले एक जना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अक्लेशलाई चक्कु प्रहार गरी फरार भएका विराटनगर–४ का २४ वर्षीय गणेश यादव रहेको प्रहरीले जानकारी दिएको छ ।

यादवलाई बिहिबार पक्राउ गरीएको पनि प्रहरीले जनाएको छ । सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय यादव हत्या आरोपीको छिमेकमा पाहुना आएका थिए ।

बेलुका खानपिनका क्रममा विवाद भएपछि गणेशले चक्कु प्रहार गरेका खुलेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिएका छन ।

सामान्य विवाद र भनाभनको विषयलाई लिएर गणेशले बुधबार राति १० बजेतिर अक्लेशमाथि चक्कु प्रहार गरेको उनले जानकारी दिएका छन ।

दुई जनाबीच विवाद भएपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जान खोज्दै गर्दा अक्लेशमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट बायाँ कोखामा गहिरो चोट लागेर अवस्था गम्भीर बनेका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा बिहीबार मृत्यु भएको थियो । घटनापछि फरार भएका गणेशलाई भारततिर भाग्न खोज्दै गर्दा प्रहरीले लौकहीबाट बिहीबार दिउँसो पक्राउ गरेको एसपी कार्कीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us