प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा भेटवार्ता

काठमाण्डु टुडे २०८१ असार ६ गते १८:२४ मा प्रकाशित

काठमाण्डु, ६ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र उपप्रधान एवं गृहमन्त्री समेत रहेका रष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

उनीहरुबीच पछिल्लो समसामयिक राजनीतिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

संकटग्रस्त सहकारी संस्थाहरूमध्ये केहीको बचत रकम अपचलनमा गृहमन्त्री लामिछानेसमेत संलग्न रहेको भनी परेको मुद्दामाथि भोलि शुक्रबार सर्वोच्च अदालतमा पेशी छ ।

यसअघि बुधबार पेशी रहेकोमा राजनीतिक चासो समेतका कारण ढिलाइ भएको चर्चाबीच तीन नेताहरूबीच छलफल भएको बुझिएको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्रीले संसद्‌मा बोल्दा ओली लगायत शीर्ष नेता अनुपस्थित रहेकामा प्रचण्डले दुःखमनाउ गरेका थिए ।

पछिल्ला दिनमा बजेटलगायत विषयमा प्रधानमन्त्री र प्रमुख सत्तासाझेदार एमालेका अध्यक्ष ओलीबीच तिक्तता बढ्दै गएको विश्लेषण भइरहेका छन् । ओलीले सरकारी कदमको आलोचना गर्दा प्रधानमन्त्रीले त्यसको बचाउ गर्दै सामान्य पार्न खोजेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us