काठमाण्डु, २ असार– प्रहरीले ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा सञ्चालित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कीर्तिपुर घर भएका ५३ वर्षीय भीमसेन महर्जन, काठमाण्डु महानगरपालिका–६ चाबहिल घर भएका ४७ वर्षीय सञ्जय सापकोटा , तेजविक्रम थापा र सजना राजकर्णिकार रहेको प्रहरीले जानकारी दिएको छ ।
तेजविक्रम थापा कुमारीपाटीमा सञ्चालित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष हुन् । उनी २०६० सालदेखि अहिलेसम्म सो सहकारीको अध्यक्ष रहेका छन । ४४ वर्षीया सजना राजकर्णिकार कृषि विकास बहुउद्देश्यीयमा व्यवस्थापक थिइन् ।
तनहुँ घर भएका ४३ वर्षीय तेजविक्रम र सजना श्रीमान् श्रीमती हुन् । उनीहरूलाई आज काठमाण्डु गोकर्णेश्वर नगरपालिका–७ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन । उनीहरू त्यहाँ फ्ल्याट लिएर बसेको अवस्थामा फेला परेका हुन् । दुई महिनादेखि उनीहरू गोकर्णेश्वरमा लुकेर बसेका थिए ।
यस्तै पक्राउ परेका महर्जन र सापकोटा सहकारीको सदस्य हुन् । २०५८ मा मार्केटिङमा जागिर खान सहकारीमा प्रवेश गरेकी सजना र तेजविक्रम सहितको समूहले ९४ करोड २३ लाख रुपैयाँ रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष रहेको छ । जिल्ला प्रहरी परिसर ललितपुरमा ५ सय ६६ जना बचतकर्ताले जाहेरी दिएका छन् । सहकारी सञ्चालकबाट पीडित बचतकर्ता २ हजार ५३१ जना रहेको प्रहरीले जानकारी दिएको छ ।
सहकारीमा २ अर्ब ८० करोड जम्मा निक्षेप देखिएको छ । २०५६ मा सहकारीको लेखा प्रमुख भएर प्रवेश गरेका तेजविक्रम थापा २०६० देखि निरन्तर कार्यकारी अध्यक्ष छन् । २०६० मा उनी लोकन्थलीस्थित समिट अस्पतालको अध्यक्ष बनेका थिए । २०७० देखी उनी अन्नपूर्ण किसान फिड र फर्टिलाइजेशन उद्योगको अध्यक्ष भएका थापा २०७१ मा कृषि टेलिभिजनको संस्थापक अध्यक्ष भएका थिए ।
२०७३ मा उनी गोरखा टेलिभिजनको पनि अध्यक्ष भए । यति हब्र्स, यति टेक्निक प्रालि नामका कम्पनी स्थापना गरेर थापा संस्थापक अध्यक्ष भएका थिए । पछिल्लो समय थापा आफूलाई राज ठकुरीको नाममा चिनाउँदै आएका थिए । उनको साथबाट राज ठकुरीको नामको गोरखा टिभीको परिचयपत्र बरामद गरिएको एसएसपी भट्टराईले जानकारी दिएका छन।
३ वटा बैंकिङ्ग कसुर मुद्दामा उनी फरार सूचीमा थिए । सदस्य सञ्जय सापकोटा २०७९ मा र भीमसेन महर्जन २०७१ मा सो सहकारीको सञ्चालक समितिमा प्रवेश गरेका हुन् ।