हाइड्रोजन गाडीलाई ईभीसरह मान्यता दिनुस्: अध्यक्ष लिङ्देन

काठमाण्डु टुडे २०८१ असार २ गते १३:४६ मा प्रकाशित

काठमाण्डु, २ असार– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हाइड्रोजन गाडीलाई ईभीसरह मान्यता दिन माग गरेका छन ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन । उनले हाइड्रोजनको गाडी गुडाएर काठमाण्डु विश्वविद्यालयले देखाइसकेको पनि बताएका छन । उनले भने, ‘हामीले भविष्यमा हाम्रो ऊर्जा कहाँ खर्च गर्ने भनेर चिन्ता लिइरहेका छौं ।

हाम्रो ऊर्जा यहाँ खर्च गर्न सकिन्छ भनेर काठमाडौं विश्वविद्यालयका वैज्ञानिकहरूले देखाइसके’ ‘त्यो हाइड्रोजन गाडीलाई नम्बर प्लेट लगाइदिने कामसमेत हाम्रो सरकारले गर्न सकेको छैन । उनीहरूले कम्पाउण्डभित्रै गाडी गुडाइरहेका छन् ।’ उनले ईभी गाडीसरह हाइड्रोजन गाडीलाई मान्यता दिने भनेर एउटा टिप्पणी उठाएर एकै दिनमा निर्णय गर्न सकिने पनि बताएका छन ।

उनले भने, ‘कर पनि त्यहीसरह लिने र नम्बर प्लेट लगाइदिने भयो भने शायद हाइड्रोजन गाडीको आयात पनि सुरु हुन्छ ।’ हाइड्रोजन गाडी महंगो हुन्छ भनेर भ्रम सिर्जना गरिएको भन्दै पूर्वऊर्जामन्त्री लिङ्देनले कसरी सस्तो बनाउन सकिन्छ भनेर छलफल सुरु गर्नुपर्ने पनि बताएका छन ।

उनले काठमाण्डु विश्वविद्यालयका वैज्ञानिकहरूसँग छलफल गर्न ऊर्जामन्त्रीलाई सुझावसमेत दिएका छन । उनले थपे, ‘हाम्रो राति खेल जाने बिजुली हाइड्रोजन उत्पादनमा दिउँ न त ३ रुपैयाँ प्रति युनिटमा’ संसारको सस्तो हाइड्रोजन नेपालमा उत्पादन गर्न सकिने भन्दै राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘प्राधिकरणलाई हाइड्रोजन स्टेसनहरू पाइलट प्रोजेक्टका रूपमा स्थापना गर्न लगाउनुस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us