काठमाण्डु, २ असार– काठमाण्डु महानगरपालिकाले रिङरोड भित्रबाट कबाड हटाउने निर्णय गरेको विरोधमा काठमाण्डु उपत्यकामा कबाड व्यवसायीले प्रदर्शन गरेका छन् ।
उनीहरुले आज (आइतबार) माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । कबाड व्यवसायी संघर्ष गठन गरेका उनीहरुले छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गरजस्ता नारा लगाएका थिए ।
रिङरोडभित्रका कबाड हटाउने काठमाण्डु महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शन गरिएको संघर्ष समितिले जानकारी दिएको छ । आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएकोले आन्दोलन गर्नु परेको व्यवसायीहरूले बताएका छन ।
काठमाण्डु महानगरका नगर प्रहरीले जबरजस्त शैलीमा आफूहरूलाई विस्ताथापित गराउन खोजेको व्यवसायीहरूको आरोप रहेको छ ।
जनप्रतिनिधिहरुले कबाड संकलन केन्द्रका कारण धेरै असुरक्षा भएको गुनासो आएका कारण नक्सापास नगरी राखिएका कबाड संकलन केन्द्रमा यसअघि डोजर चलाइएको महानगरको भनाइ छ ।
महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो । तर कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर समेत चलाएको थियो ।