एमालेले सरकारमा जुनियर मन्त्रीहरु पठाएको छ: महामन्त्री थापा

काठमाण्डु टुडे २०८१ असार १ गते १५:४३ मा प्रकाशित

काठमाण्डु, १ असार– कांग्रेस महामन्त्री गगन थापाले सत्ताको प्रमुख घटक एमाले सरकारमा भएर पनि नभएको जस्तो व्यवहार देखाएको आारेप लगाएका छन ।

आज शनिबार कांग्रेसको नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

थापाले एमालेले मन्त्रिपरिषदमा जुनियर मन्त्री पठाउनुका साथै सरकारको कामको पनि जिम्मा नलिएको उनको आरोप छ । उनले भने, ‘सरकारमा उसले जुनियर मन्त्रीहरु पठाएको छ, हेर्दाखेरि मात्रै जुनियर मन्त्रीहरु पठाएको होइन । किन पठाएको हो भने सरकारमा आफू बस्नेपनि तर नागरिकको बीचमा गएर यो सरकार मेरो हो भनेर जिम्मा नलिने, ‘हेर्नुस् त बजेटमा कसरी पन्छिएको ? सरकार आफ्नो छ, यो बजेट माओवादीको जस्तो देखियो ।

यो बजेटमा रातोरातो देखियो भनेर सर्लक्क पन्छिएको छ ।’ एमाले अबको दुई तीन वर्ष सरकारमा रहने तर सरकारको कामको जिम्मा नलिने रणनीतिमा देखिएको थापाको विश्लेषण रहेको छ । उनले भने, ‘अबको दुई, तीन वर्षको राजनीतिमा नेकपा एमाले सरकारमा रहिरहन चाहन्छ ।

सबै खेलोफड्को उसले पनि गर्छ । तर जिम्मा लिँदैन’ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री भएको तर सरकारले राम्रो काम गर्न नसकेपछि सबै दोष कांग्रेसलाई लगाएको थापाले बताएका छन ।

उनले भने, यो भन्दा एक वर्ष अगाडि उहाँकै प्रधानमन्त्रीत्वमा हामी सरकारमा थियौँ । त्यो बेलामा पनि राम्रो भएन तर त्यो राम्रो नभएको हिसाबकिताब उहाँले के गर्नुभयो ? उहाँले जिम्मा लगाइदिनुभयो, कांग्रेसको मानिसहरु थिए, मैले काम गर्न सकिन भनेर प्रधानमन्त्रीले पन्छाइदिएर निस्कनुभयो । त्यसैले उहाँले जिम्मा लिनुहुन्छ भन्ने पटक्कै छैन’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us