पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

काठमाण्डु टुडे २०८१ असार १ गते १४:३० मा प्रकाशित

काठमाण्डु, १ असार– पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिने भएका छन । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिएका छन ।

उनले भने, ‘यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८ः३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिने भएको हो ।’

चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको उनले जानकारी दिएका छन ।

अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः ३० बजेदेखि ११ः३० सम्म खुला गरिँदै आएको थियो ।

यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us