काठमाण्डु, २७ जेठ– नक्सालस्थित बाल मन्दिरको जग्गा सस्तोमा लिजमा दिएको प्रकरणमा पक्राउ परेका नेपाल बाल संगठनका पूर्वउपाध्यक्ष तुल्सीनारायण श्रेष्ठ दुई दिनमै छुटेका छन ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिइसकेको भन्दै श्रेष्ठलाई दुई दिनमै छाडेको स्रोतले जानकारी दिएको छ ।
सीआईबीका एसपी होविन्द्र बोगटीले जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने प्रक्रिया सकिएपछि आवश्यक परेका बेला फेरि उपस्थित हुने गरी छाडिएको जानकारी दिएका छन ।
प्रहरीले बाल मन्दिरको जग्गा भाडा प्रकरणमा एक महिनाअघि नै २० जनाविरुद्ध पक्राउ पुर्जी लिएको थियो । तर कोही पक्राउ परेका थिएनन् ।
बाल मन्दिरमा झण्डै तीन दशक नेतृत्वमा रहेकी रिता सिंह सहितविरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले कसैलाई नियन्त्रणमा लिएको थिएन ।
पक्राउ गरेर अनुसन्धान गरिरहनु पर्ने नदेखिएको भन्दै सीआईबीले कसैलाई पक्राउ नगर्ने नीति लिएको थियो । तर पक्राउ नगरेको भन्दै प्रश्न उठेपछि ब्यूरोले श्रेष्ठलाई समातेको थियो । तर, दुई दिनमै उनी पनि छुटेका छन् ।