काठमाण्डु, २७ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथग्रहण गर्ने समारोहमा सहभागी हुने सिलसिलामा आज आइतबार अपराह्न भारतको राजधानी नयाँदिल्लीमा पुगेका छन ।
प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गरेको दिल्लीस्थित विदेश मन्त्रालयले जानकारी दिएको छ ।
तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले आज साँझ भारतको प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम रहेको छ ।
शपथ समारोहपछि प्रधानमन्त्री दाहाल र उनका समकक्षी मोदीबीच आजै साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डका साथमा उनकी स्वकीय सचिव गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कर्ने कार्यक्रम रहेको छ ।