गणतन्त्रको १६ वर्षमा धेरै भौतिक प्रगति गरेका छौँ: अर्थमन्त्री पुन

काठमाण्डु टुडे २०८१ जेठ २६ गते १७:१६ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– अर्थमन्त्री वर्षमान पुनले गणतन्त्र ल्याएको डेढ दशकमा विकासले फड्को मारेको दाबी गरेका छन । आज शनिबार नेकपा माओवादी केन्द्र निकट वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको भेलालाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन ।

उनले गणतन्त्र स्थापना गरेको बेला देशमा ५ हजार किलोमिटर बाटो कालोपत्रे भएकोमा अहिले १८ हजार किलोमिटर बाटो कालोपत्रे भएको बताएका छन । उनले गणतन्त्र अघि देशमा २० हजार किलोमिटर सडक रहेकोमा अहिले १ लाख ५ हजार किलोमिटर सडक पुगेको पनि बताएका छन ।

उनले यो वर्ष हुम्ला सडक सञ्जालले जोडिएकोले अब कुनै पनि जिल्ला सडक सञ्जालबाट बाहिर नरहेको उल्लेख गरेका छन । उनले गणतन्त्रको १६ वर्षमा धेरै भौतिक प्रगति भए पनि अब त्यसलाई गुणस्तरमा बदल्नेगरी बजेट आएको पनि बताएका छन । उनले अन्य जागरणका कुरामा पनि परिवर्तन भए पनि जुन रूपमा जनताको जीवनस्तर फेर्नुपर्ने थियो त्यो रूपमा फेर्न नसकेको पुनले बताएका छन ।

विश्व भूमण्डलीकरण भएकोले अहिले युवाहरू संसारभर पुगेको र त्यहाँको विकासलाई नेपालसँग तुलना गरेर असन्तुष्टि बढेको उनले बताए । उनले ३ सय वर्षअघि पृथ्वीनारायण शाहले आधुनिक नेपाल बनाउँदै गर्दा बेलायत र अमेरिकामा औद्योगीकरणको विकास सुरु भएको बताउँदै अहिले विश्वमा भएको विकास खोज्नु र त्यहीअनुसार विकास गर्नु अहिलेको चुनौती भएको पनि बताएका छन ।

उनले भने, ‘अहिले हामीले गठबन्धन मार्फत, सरकारमार्फत सुरु गर्न खोजेको कुरा नेपालमा गर्न सम्भव छ भनेर आशा जगाउने, नेपाली जनता, युवाले केही गर्न सक्छन्, हामी जहाँ भए पनि नेपाल राष्ट्र निर्माण गर्न सक्छौँ भन्ने सोच ल्याउन खोजेका छौँ ।

सन् १९६० मा नेपाल र कोरियाको अवस्था उस्तै उस्तै थियो, हामी उनीहरूलाई चामल बेच्थ्यौँ । उनीहरू युरोप अमेरिकाको अनुदानको मकै खान्थे । अहिलेकै युवा पुस्ताले सामसङ, हुण्डाई जस्ता ठुला ठुला बहुराष्ट्रिय कम्पनी बनाएका छन् । एउटा पुस्ताले दुःख भोग्यो र अर्को पुस्ताले देश उठाएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us