काभ्रेमा एघार जनाको नक्कली नागरिकता रद्द

काठमाण्डु टुडे २०८१ जेठ २६ गते १६:४४ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरीदिएको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा जारी ११ जनाको नक्कली नागरिकता रद्द गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

तत्कालीन समयमा कार्यालयमा अधिकृतद्वय झपेन्द्रराज खरेल र अधिकृत भूपेन्द्र पाण्डेय तथा नायब सुब्बा रामचन्द्र अर्याल भएका बेला जारी गरिएका ११ थान नागरिकता रद्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिएका छन ।

रद्द गरिएका सबै नागरिकता एउटै वर्ष जारी भएको पाइएको उनले जानकारी दिएका छन । सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार उक्त नक्कली नागरिकता विभिन्न ठेगानाका चिरञ्जीवी दुलाल, श्याम भण्डारी, लिलापन्थ भण्डारी, श्रीराम न्यौपाने, निमा तामाङ, पासाङ तामाङ, गोविन्द भट्टराई, रञ्जिता थापा, राजु गुरुङ, सीता पापाने र तेन्जिङ सोनाम तामाङ रहेका छन् । अनुसार राजु गुरुङ पक्राउ परी धरौटीमा रिहा भएको जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ ।

निजले कर्मचारीलाई रु पाँच लाख बुझाएर नागरिकता र राहदानी लिएको बयान दिएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । खरेल नक्कली नागरिकता प्रदान गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि कारगार चलान भई उच्च अदालतबाट धरौटीमा छाड्ने आदेश पाए पनि धरौटी रकम राख्न नसक्दा बन्दी अवस्थामै रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिएका छन ।

नागरिकता सनाखत गरेर विदेशीलाई समेत बिक्री गर्ने गिरोह मिलाउने तत्कालीन सुब्बा (हालका अधिकृत) अर्याल र अधिकृत भूपेन्द्र पाण्डेय भने धरौटीमा दुई साताअघि मात्रै छुटेका उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us