
काठमाण्डु, १३ जेठ– एमाले महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी दल कांग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको दाबी गरेका छन ।
आज (आइतबार) झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । महासचिव पोखरेलले मुलुकमा अहिले अस्थिरता रहेको पनि बताएका छन । उनले राजनीतिक अन्योलको अवस्थामा मुलुक रहेको बताएका छन ।
महासचिव पोखरेलले कांग्रेसले संसद्मा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको बताएका छन । उनले आफू सरकारमा पुग्नका लागि कांग्रेस संसद्लाई बन्धक बनाउन लागि परेको पनि बताएका छन ।
संसद्को अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको उनले बताएका छन । महासचिव पोखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्ने सामर्थ्य एमालेले जुटाउन नसकेको बताए । उनले मिसन ०८४ मा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रुममा स्थापित गर्नुपर्ने बताए ।
अरूको सहारा बिना एमालेको नेतृत्वमा स्थिर सरकार बनाउन आवश्यक रहेको पनि बताएका छन ।