
काठमाण्डु, ९ जेठ– कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले सरकारका अलोकतान्त्रिक कदमबारे पार्टीले प्रस्ट नीति लिनुपर्ने बताएका छन ।
आज (बुधवार) सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा नेता महरले यस्तो बताएका हुन ।
उनले वर्तमान सरकारले जनताको हितमा काम नगरेको पनि बताएका छन । उनले भने, ‘यो लोकतान्त्रिक पद्धति अनुरूप चलिरहेको छैन ।
त्यसकारण यो सरकारका प्रति पार्टीको बुझाइ प्रस्ट हुनुपर्छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि त अब छानबिन गर्ने मात्रै होइन, उनको राजीनामा ढिला भइसकेको छ ।’
हिजो मङ्गलवार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि सरकारले प्रतिसोध साँधेर धरपकड गरेको भन्दै महरले आपत्ति व्यक्त गरेका छन । उनले भने, ‘हिजो जसरी प्रतिशोध साँध्ने गरी कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई धरपकड गरिएको छ, यो सरकार लोकतान्त्रिक हुनै सक्दैन ।’
उनले पार्टीले सरकारविरुद्ध सडक सङ्घर्ष चर्काउन ढिला भएको बताए । ‘संसद्मा बलियो प्रतिपक्षीको भूमिका निभाउनुपर्छ । सडकबाट पनि दबाब दिनुपर्छ,’ उनले भने, ‘कांग्रेसले बोलीले होइन, व्यवहारमै लोकतन्त्रका लागि सङ्घर्ष गर्ने र लोकतन्त्र बचाउनुपर्ने स्थिति बनेको देखिएको छ ।’