
काठमाण्डु, २ जेठ– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका महामन्त्री गगन थापाले २८ वैशाखमा संसदमा दिएको अभिव्यक्तिमाथि प्रश्न गरेका छन ।
गत २८ वैशाख २०८० मा बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस महामन्त्री थापालाई सभामुखले ३ मिनेट समय दिएका थिए ।
उनी बोल्दै जाँदा सभामुखले २ मिनेट समय थप गरिएको बताएका थिए । त्यस क्रममा थापाले आफूलाई निगाहाको समय चाहिँदैन हकको समय चाहिने अभिव्यक्ति दिएका थिए ।
एमाले अध्यक्ष ओलीले बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाको अभिव्यक्ति मर्यादित नभएको ओलीको दाबी रहेको छ ।
उनले भने, ‘सभामुखलाई के भन्या त्यो ? तपाईंले दिएको निगाहाको समय चाहिँदैन । अनि सभामुखले दिएको समयमा नबोलेर घरबाटै ल्याएको समयमा बोल्ने ?’ महामन्त्री थापालाई ओलीको प्रश्न छ, ‘आफ्नो स्वेच्छाचारिता हुन्छ संसदमा ?’ थापाले कांग्रेसको महामन्त्री पद अनुसारको अभिव्यक्ति नदिएको ओलीको टिप्पणी छ ।
उनी भन्छन्, ‘के भन्या कांग्रेसको पनि महामन्त्री जस्तो पद समातेर बस्या मान्छेले ? के बोल्या त्यो ? कि कांग्रेसको कार्यकर्ता भयो भने कुनै पद ओहोदामा केहीमा भएपनि कसैलाई सम्मान गर्न नपर्ने हो ?
२८ चैतमा बसेको बैठकमा सभामुख देवराज घिमिरेले अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएपछि कांग्रेस सांसदहरुले अवरोध गरेका थिए । कांग्रेसको अवरोधकाबीच सभामुख अगाडि बढ्न खोजेपछि कांग्रेसका सांसदहरुले टेबुल ठोकेर विरोध गरे । त्यसपछि सभामुख घिमिरेले महामन्त्री थापालाई बोल्न तीन मिनेट समय दिएका थिए ।
कांग्रेस सांसदहरुले कम समय दिएको भनेर फ्लोरबाटै विरोध व्यक्त गरेका थिए । महामन्त्री थापा बोल्न थाले । तीन मिनेट समय कटाएपछि सभामुखले दुई मिनेट थपिदिएको बताए । त्यसपछि महामन्त्री थापाले सभामुख लक्षित अभिव्यक्ति दिए ।