गिरिबन्धुबारे सर्वोच्चको फैसलामा ओलीले उठाए प्रश्न

काठमाण्डु टुडे २०८१ जेठ २ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, २ जेठ– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरिबन्धु टी इस्टेटसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन ।

आज (बुधबार) एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सर्वोच्च अदालतले गरेको फैसलाप्रति प्रश्न गरेका हुन । गिरिबन्धुको हदबन्दी भन्दा बढीको जग्गा बिक्री गर्न संसदले नै कानुन बनाएको भन्दै त्यसलाई अपरिपक्व भनेर न्यायाधीशहरुले पूर्वाग्रह देखाएको बताएका छन ।

उनले भने, कानुन बनाऊ भन्ने, कानुन बनाएपछि अपरिपक्व भन्ने, ‘कानुन बनाउन संसदमा ल्याउने हो, संसदले पास गर्ने हो, कानुन बनाउने त्यो भन्दा परिपक्व तरिका के हुन्छ ?’

सर्वोच्चले फैसलामा गिरिबन्धुको जग्गा बिक्री गर्न नपाइने नभनेको भन्दै उनले अगाडि भने, ‘अदालतले अहिले पनि फैसला गर्दा हदभन्दा बढी त्यो जग्गा दिन पाइँदैन भन्नुपर्‍यो नि, दिनचाहिँ मिल्छ, तर यसको अपरिपक्वता देखियो भनेको छ ।’

गिरिबन्धुको जग्गा पहिले नेपाली कांग्रेसको सरकार हुँदा एक पटक ५१ बिघा र एक पटक १९ बिघा सट्टापट्टाको नाममा बिक्री गर्न दिएको ओलीले आरोप लगाएका छन ।

त्यसबारे भने सर्वोच्चको फैसलामा केही नबोलिएको भन्दै ओलीले न्यायाधीशलाई भने, ‘अस्ति फैसला गर्दा गिरिबन्धु इस्टेटको कुरा उठिसकेपछि यस सम्बन्धमा के के भएको छ, समग्र कागजपत्र लेऊ पहिले के भएको थियो, अहिले के भएको छ भनेर खोज्नुपर्दैन ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us