जापानी विदेशमन्त्रीले भेटिन् प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ वैशाख २३ गते १८:२२ मा प्रकाशित

काठमाडु, २३ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

भेटमा प्रधानमन्त्रीले जापानले नेपालको आर्थिक एवं सामाजिक विकासमा लामो समयदेखि सहयोग गर्दै आएको र पछिल्लो समय ठूला पूर्वाधार निर्माणमा महत्वपूर्ण सहयोग गरेको उल्लेख गरे ।

प्रचण्डले दुई देशबीचको उच्चस्तरीय भ्रमणले कूटनीतिक सम्बन्ध थप सबल हुने विश्वास व्यक्त गरे । भेटमा जापानी विदेशमन्त्री योकोले नेपाल–जापानबीच सम्बन्ध सदैव सौहार्द्रपूर्ण रहँदै आएको बताइन् ।

दुई देशबीच रहिआएको समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा उनले जोड दिइन् । आर्थिक विकासमा नेपालले निर्धारण गरेका लक्ष्य पूरा गर्न जापान सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us