कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

काठमाण्डु टुडे २०८१ वैशाख १३ गते ८:२९ मा प्रकाशित

yamlal सुर्खेत, १३ वैशाख– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सत्तारुढ घटकबीच मन्त्रालयमा भागबण्डा मिलेपछि मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन ।

दलहरुबीचको सहमतिअनुसार माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने भएको छ ।

एमालेले भौतिक पूर्वाधार तथा सहरी, आन्तरिक मामिला तथा योजना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ । यद्यपि आकांक्षी व्यवस्थापन गर्न नसक्दा मन्त्रीहरुको नाम भने अझै टुंगिएको छैन । माओवादी केन्द्रबाट बुधबार रणसिंह परियार बिनाविभागीय मन्त्री नियुक्त भएका थिए ।

कँडेल गत २७ चैत्रमा मुख्यमन्त्री नियुक्त भएका थिए । संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us