राष्ट्रपति पौडेल र कतारका अमिरबीच शतिलनिवासमा भेटवार्ता

काठमाण्डु टुडे २०८१ वैशाख ११ गते १८:२६ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेल र नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गर्दै । तस्बिरः रत्न श्रेष्ठ/ रासस

काठमाण्डु, ११ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच मंगलबार द्विपक्षीय भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा नेपाल र कतारबीचको सम्बन्ध, कतारमा कार्यरत नेपाली मजदुरको समस्या, द्विपक्षीय श्रम सम्झौतालगायत विषयमा छलफल भएको बताइएको छ ।

भेटवार्तामा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारीमन्त्रीको जिम्मेवारी पाएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत लगायत थिए । थानी राष्ट्रपति भेट्न अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीतल निवास पुगेका थिए ।

त्यसअघि उनलाई राष्ट्रपति पौडेल आफैं विमानस्थल पुगेर स्वागत गरेका थिए । थानीको सम्मानमा राष्ट्रपति पौडेलले मंगलबार साँझ ७ बजेपछि होटल सोल्टीमा रात्रिभोज आयोजना गरेका छन् ।

राष्ट्रपति पौडेलको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा आएका थानीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीले आफ्नो सम्मानमा आयोजना गरेको दिवा भोजमा सरिक भएर उनी बुधबार कतारको दोहाका लागि उड्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us