बालकृष्ण खाँणलाई थुन्नेले मलाई किन दया गरेर नथुनेका होइनन्ः लामिछाने

काठमाण्डु टुडे २०८१ वैशाख ११ गते १८:१५ मा प्रकाशित

इलाम, ११ वैशाख– गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितको रकम सरकारले जसरी पनि फिर्ता गराउने बताएका छन् ।

उपनिर्वाचन प्रचारका सिलसिलामा इलाम पुगेका लामिछानेले सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि सर्वसाधारण बचतकर्ताको पैसा फिर्ता गराउने प्रतिबद्धता जनाए । संसद बस्न सक्ने अवस्था नभए अध्यादेशमार्फत भए पनि कानून बनाएर सञ्चालकबाट पीडितको रकम असुलउपर गरिने उनको भनाइ थियो ।

‘कानुनमा आवश्यक संशोधन गरेर भए पनि सहकारी ठगेर भागेकाहरूको सम्पत्ति रोक्का गरेर बचतकर्ताको रकम फिर्ता गरिनेछ’, उनले भने । कानूनी व्यवस्थाका कारण सहकारीको सम्पत्ति जफत गर्न कठिनाइ भएको लामिछानेले बताए ।

सहकारी ठगीको रकम आफन्तको नाममा विदेशमा राखेको भए पनि सम्पत्ति शुद्धीकरण विभागले जोख्ने लामिछानेले बताए । आफ्नो नाम अनावश्यक रुपमा सहकारी ठगीमा जोडिएको भन्दै उनले काँग्रेसको आरोपमा सत्यता नभएको उल्लेख गरे ।

राज्यका सम्पूर्ण शक्ति लगाएर छानबिन गर्दा पनि प्रमाण नभेटिएपछि आफूविरुद्ध मिडिया परिचालन गरिएको दाबी उनको छ । प्रमाण पुगेको भए आफ्दै पार्टीका नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थुन्ने काँग्रेसले आफूलाई किन छाडेको भन्दै प्रश्न गरे ।

‘बालकृष्ण खाणलाई समात्नेले मलाई दयामाया गरेर छोडेका होलान् र ?’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us