जम्बो टोलीसहित काठमाण्डु उत्रिए कतारी अमिर

काठमाण्डु टुडे २०८१ वैशाख ११ गते १७:५० मा प्रकाशित

काठमाण्डु, ११ वैशाख– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणका सिलसिलामा १ सय ५० जनाको जम्बो टोलीसहित काठमाण्डु उत्रिएका छन् ।

उनी मंगलबार दिउँसो ३ बजेर ३५ मिनेटमा बंगलादेशबाट विशेष विमानमार्फत अन्र्ताष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनको स्वागतका लागि राष्ट्रपति रामचन्द्र पौडेल,  उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रीहरु विमानस्थल पुगेका थिए ।

राष्ट्रपति पौडेलको औपचारिक निम्तोमा उनी नेपाल आएका हुन् । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।

भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातमन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहम्मद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीलगायत छन् ।

अमिरी दिवानको अध्ययन र अनुसन्धान विभागका निर्देशक साद बिन नासेर अल काबी, कतार लगानी प्राधिकरण (क्यूआईए) को एसिया र अफ्रिका लगानी प्रमुख शेख फैसल बिन थानी अल थानी, परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग प्रमुख युसुफ सुल्तान लाराम, अमिरको स्वकीय सचिवालयका प्रमुख बिन घनिम अल्होदैफी, राज दरबारको समारोह विभागका सहायक निर्देशक तलाल बिन अल्मास अल सुलती तथा अमिरका निजी सहायक मन्सुर फलेह अल–हजरी भ्रमण दलमा छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र थानीबीच आजै शीतल निवासमा द्विपक्षीय भेटवार्ता हुनेछ । राष्ट्रपति पौडेलले उनको सम्मानमा त्यसाँझ ७ बजे होटेल सोल्टीमा रात्रिभोज आयोजना गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र थानीबीच बुधबार बिहान साढे १० बजे होटेल सोल्टीमा औपचारिक भेटवार्ता हुने कार्यतालिका छ । त्यस क्रममा विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने छ ।

प्रधानमन्त्री प्रचण्डले बुधबार अपराह्न साढे १२ मा थानीको सम्मानमा होटल द्वारिकाजमा दिवा भोज आयोजना गरेका छन् । थानी बुधबार २ बजे दोहा लागि प्रस्थान गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us