निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढौं : प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ वैशाख ११ गते १२:२३ मा प्रकाशित


काठण्माडु, ११ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण भएको सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् ।

लगानी बोर्डको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने  नभई  सहजीकरण गर्नुपर्ने बताए ।

‘निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ,’ प्रधानमन्त्रीले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन । ⁠त्यसैले निजी क्षेत्रलाई नियन्त्रण होइन सहजीकरण गरौँ ।’आजको विश्वमा ⁠विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै उनले प्रोत्साहन गर्ने नीति लिँदा मात्र जनताको चाहना सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न सम्वद्ध पक्षलाई निर्देशन दिए ।

लगानी सम्मेलन सफल पार्न सबैले सकारात्मक भावमा काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यावहारिक परियोजना प्रस्तुत गर्नुपर्ने औंल्याए । ‘लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन ठोस र व्यावहारिक परियोजना प्रस्तुत गरौं,’ प्रचण्डले भने, ‘सम्मेलनअघि ऐन संशोधन गरेका छौं  । त्यसले लगानी बढाउन मद्दत गर्नेछ । त्यसैले पनि ठोस र व्यावहारिक योजनाहरू दिनुपर्छ । ⁠नयाँ सन्देश दिने गरी सम्मेलन गरौं ।’

विकास परियोजनाको कामलाई सरलीकृत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले ⁠केही राम्रो गर्न खोज्दा अप्ठ्यारो भए पनि त्यस्ता परिस्थितिलाई राजनीतिक नेतृत्वले तोड्न सक्नुपर्ने बताए ।

⁠नेपालमा स्टिल उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रचण्डले त्यस्ता उद्योग स्थापनका लागि गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए । उनले ⁠कृषिमा रोजगारी सिर्जना गर्नका लागि सिंचाइलाई प्राथमिकता दिन र ⁠विकासका काम रोकिएका भए अघि बढाउन दिर्नेशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us